रास्वपाको पदाधिकारी चयनका लागि मतदान सुरु
चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ। सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि निर्धारित समयभन्दा केही ढिलो निर्वाचन प्रक्रिया अघि बढाइएको हो।
रास्वपाका निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान सुरु गरिएको हो।
यसअघि सभापति पदमा रवि लामिछाने र खुला उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्।
हाल महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री तथा एक महिला सहमहामन्त्री पदका लागि मतदान भइरहेको छ। महिला उपसभापति पदमा सोबिता गौतम र डा. तोसिमा कार्कीबीच प्रतिस्पर्धा भइरहेको छ।
महामन्त्री पदका लागि मनीष झा, विपिन आचार्य, सागर ढकाल र गणेश कार्की चुनावी मैदानमा छन्। यसअघि कबिन्द्र बुर्लाकोटी, रञ्जु दर्शना, प्रमोद न्यौपाने, गणेश पराजुली, जगदीश खरेल, शिशिर खनाल र राजुनाथ पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
खुला सहमहामन्त्री पदका लागि असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त प्रतिस्पर्धामा छन्।
महिला सहमहामन्त्री पदमा जुली यादव, विदुषी शर्मा, कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माबीच प्रतिस्पर्धा भइरहेको छ।