फ्रेन्चाइज नभएका कोर्ष सञ्चालन गरेको आरोपमा आइएसएमटी कलेजमाथि प्रश्न
काठमाडौं — नेपालका विभिन्न सहरमा सञ्चालनमा रहेका आइएसएमटी कलेजहरूले सम्बन्धित विदेशी विश्वविद्यालयबाट फ्रेन्चाइज नलिएका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको पाइएको छ। युकेको सन्डरल्यान्ड विश्वविद्यालयसँग साझेदारीमा स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रम सञ्चालन गर्दै आएको आइएसएमटीका केही कोर्ष विश्वविद्यालयको आधिकारिक फ्रेन्चाइज सूचीमा समावेश नभएको देखिएको हो।
काठमाडौं, विराटनगर, चितवन, पोखरा र बुटवलमा रहेका आइएसएमटी कलेजहरूले सञ्चालन गरिरहेका कार्यक्रम र सन्डरल्यान्ड विश्वविद्यालयको वेबसाइटमा प्रकाशित ग्लोबल पार्टनरसिप विवरण तुलना गर्दा केही विषयका लागि विश्वविद्यालयबाट औपचारिक फ्रेन्चाइज नलिइएको देखिएको छ।
उपलब्ध विवरणअनुसार आइएसएमटी विराटनगरले सञ्चालन गरिरहेको बीएससी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक्स कार्यक्रम विश्वविद्यालयको फ्रेन्चाइज सूचीमा छैन। त्यस्तै, आइएसएमटी काठमाडौंले सञ्चालन गर्दै आएको एमएससी कम्प्युटिङ र एमबीए कार्यक्रम पनि सूचीमा समावेश नभएको देखिएको छ।
यस्तै, आइएसएमटी चितवनले बीएससी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक्स, आइएसएमटी बुटवलले एमबीए, तथा आइएसएमटी पोखराले सञ्चालन गरिरहेको स्नातकोत्तर तहका कार्यक्रमका लागि पनि विश्वविद्यालयबाट फ्रेन्चाइज लिएको विवरण सार्वजनिक सूचीमा उल्लेख छैन।
यसले सम्बन्धित कार्यक्रम अध्ययन गर्ने विद्यार्थीले प्राप्त गर्ने शैक्षिक प्रमाणपत्रको वैधानिकता र मान्यताबारे प्रश्न उठाएको छ।
यसैबीच, ‘विदेशी शिक्षण संस्थाको सम्बन्धमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९’ ले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपालमा कार्यक्रम सञ्चालन गर्न सम्बन्धित विश्वविद्यालय अन्तर्राष्ट्रिय मान्यता प्राप्त र्याङ्किङ संस्थाहरूको शीर्ष १,००० भित्र हुनुपर्ने व्यवस्था गरेको छ। तर, आइएसएमटीसँग सम्बन्धन रहेको सन्डरल्यान्ड विश्वविद्यालय उक्त मापदण्ड पूरा नगरेको दाबी पनि गरिएको छ।
यस विषयमा आइएसएमटी कलेज, सन्डरल्यान्ड विश्वविद्यालय तथा सम्बन्धित सरकारी निकायको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।