चिनियाँ दूतावासद्वारा अडियो प्रकरणको निष्पक्ष छानबिनको माग
नेपालस्थित चिनियाँ दूतावासले सामाजिक सञ्जालमा भाइरल भइरहेको अडियो प्रकरणप्रति गम्भीर चासो व्यक्त गर्दै निष्पक्ष र गहिरो छानबिन गर्न नेपाल सरकारसँग आग्रह गरेको छ।
दूतावासले चिनियाँ नागरिकले नेपाली पत्रकारलाई घुस दिएको भनिएको विषयलाई ‘भ्रामक र कपोलकल्पित’ भन्दै पूर्ण रूपमा खण्डन गरेको छ। प्रवक्ताद्वारा जारी विज्ञप्तिमा चीनले अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति अवलम्बन गर्दै आएको उल्लेख गरिएको छ।
यो विवाद जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ र चिनियाँ नम्बरबाट फोन गर्ने एक व्यक्तिबीचको संवाद सार्वजनिक भएपछि सुरु भएको हो। श्रेष्ठले भाइरल अडियोमा रहेको आवाज आफ्नै भएको स्वीकार गरे पनि अडियो तोडमरोड र सम्पादन गरिएको दाबी गरेका छन्।
दूतावासले घटनामा संलग्न दोषीमाथि नेपाली कानुनअनुसार कारबाही गर्न सरकारसँग माग गरेको छ।