अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सम्झौता केही दिनमै टुंगिन सक्ने
अमेरिका र इरानबीच जारी उच्चस्तरीय वार्ता अन्तिम चरणमा पुगेको बताइएको छ। अमेरिकी राष्ट्रपति कार्यालयले सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रस्तावित सम्झौताले इरानको नेतृत्व तहबाट औपचारिक स्वीकृति प्राप्त गर्न बाँकी रहेको छ। एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार दुवै पक्षबीचको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको छ र केही दिनभित्रै सम्झौता टुंगिने अपेक्षा गरिएको छ।
सम्भावित सम्झौताले मध्यपूर्वमा शान्ति स्थापनासँगै इरानको आणविक कार्यक्रमबारे अन्तर्राष्ट्रिय चासो सम्बोधन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। यद्यपि, सम्झौताका विस्तृत बुँदा भने सार्वजनिक गरिएको छैन।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तामा धैर्यता र सावधानी अपनाउन निर्देशन दिएका छन्। अमेरिकाले इरानका बन्दरगाहमाथिको नाकाबन्दी भने औपचारिक सम्झौता नभएसम्म कायम रहने जनाएको छ।