प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण बनाउन सबै पक्षको महत्वपूर्ण भूमिका : आयोग
निर्वाचन आयोगले गत प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी, राजनीतिक दल तथा नागरिकको महत्वपूर्ण भूमिका रहेको जनाएको छ।
विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय समीक्षा कार्यक्रममा सहभागीहरूले हिमाली, पहाडी र तराई जिल्लामा मतपेटिका तथा मतपत्र सुरक्षित रूपमा पुर्याउन सुरक्षाकर्मीको प्रभावकारी परिचालन निर्वाचन सफलताको मुख्य आधार बनेको बताएका छन्।
निर्वाचन आयोगका सचिव मधुसूदन बुर्लाकोटीले स्वदेशी तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचन निष्पक्ष भएको प्रतिवेदन दिएको जानकारी दिए। उनले आगामी निर्वाचनलाई ‘ग्रिन इलेक्सन’का रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
आयोगका अनुसार निर्वाचनमा चार अर्ब ९६ करोड ७८ लाख रुपैयाँभन्दा बढी खर्च भएको थियो। एक करोड ७९ लाखभन्दा बढी मतदातालाई आधार मान्दा प्रतिमतदाता औसत खर्च २६३ रुपैयाँ परेको जनाइएको छ।