गैँडाकोटमा आगलागी नियन्त्रणसम्बन्धी प्रशिक्षण, एलपी ग्यास सुरक्षा अभ्यास गराइयो
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा अचानक हुने आगलागी नियन्त्रणसम्बन्धी प्रशिक्षण तथा प्रयोगात्मक अभ्यास सम्पन्न गरिएको छ।
सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वार्टर नवलपुरको विपद् व्यवस्थापन टोलीले कावासोती नगरपालिकाका सरोकारवालालाई लक्षित गर्दै आगलागी नियन्त्रण अभ्यास गराएको हो। कार्यक्रममा घरमा हुने सिलिन्डर ग्यासको आगलागी, व्यक्तिको शरीरमा लागेको आगो तथा घरमा लागेको आगो नियन्त्रण गर्ने तरिकाबारे प्रशिक्षण दिइएको थियो।
प्रशिक्षक प्रहरी निरीक्षक रामचन्द्र खड्काले एलपी ग्यासको आगलागी पानीले निभाउन नसकिने भन्दै चिसो कपडा, रुमाल, कुचो तथा सावधानीपूर्वक सिलिन्डरको लिक बन्द गर्ने विधिबारे जानकारी दिए।
कार्यक्रममा विपद् प्रतिकार्यका लागि पूर्वतयारी, आपत्कालीन सामग्रीको प्रयोग, सुरक्षित स्थान पहिचान तथा धैर्यतापूर्वक उद्धार कार्य गर्ने विषयमा समेत जानकारी दिइएको थियो। तालिममा कारितास नेपाललगायत सरोकारवाला निकायको सहकार्य रहेको थियो।