काठमाडौँ उपत्यकामा २४ घण्टामा २,४५३ सवारी चालक कारबाही, ११ लाख ५१ हजार राजस्व सङ्कलन
काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले २४ घण्टाको अवधिमा सञ्चालन गरेको सवारी चेकिङ अभियानका क्रममा २ हजार ४५३ जना सवारी चालकलाई कारबाही गरेको छ। आइतबार बिहानदेखि सोमबार बिहानसम्म सञ्चालन गरिएको उक्त अभियानबाट ११ लाख ५१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूलाई कारबाही गरिएको हो। कारबाहीमा मापसे (मादक पदार्थ सेवन गरी सवारी चलाउने) १०५ जना, राइड सेयरिङ नियम उल्लङ्घन गर्ने २३८ जना, रातोबत्ती उल्लङ्घन गर्ने १८४ जना, तीव्र गतिमा सवारी चलाउने १८६ जना रहेका छन्।
त्यसैगरी लेन क्रस गर्ने १४ जना, सडक फुटपाथमा सवारी चलाउने १०० जना, हर्न निषेध उल्लङ्घन गर्ने ११९ जना, एकतर्फी बाटोमा सवारी चलाउने १३९ जना तथा अन्य १ हजार ३६८ जना चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले मापसे तथा लागुपदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत र जोखिमपूर्ण भएको भन्दै यस्तो गतिविधि देखिएमा नजिकैको प्रहरी कार्यालय वा ट्राफिक कन्ट्रोल रूमको हटलाइन १०३ तथा प्रहरी हटलाइन १०० मा जानकारी गराउन आग्रह गरेको छ।