विदेशी आयातको दबाबमा नेपाली औषधि उद्योग संकटमा, आयात कडाइ गर्न उद्योगीको माग
काठमाडौँ — नेपालका औषधि उत्पादकहरूले विदेशी औषधि आयातका कारण स्वदेशी उद्योग गम्भीर दबाबमा परेको भन्दै सरकारले आयातमा कडाइ गर्नुपर्ने माग गरेका छन्।
उद्योगीहरूले नेपालमा उत्पादन हुने औषधिको प्रतिस्पर्धा बाह्य बजारसँग गर्न कठिन भएको भन्दै स्वदेशी उद्योग बचाउन विशेष नीति आवश्यक रहेको बताएका छन्। उनीहरूको भनाइमा, आत्मनिर्भर भएका औषधिका लागि कच्चा पदार्थ मात्र आयात गर्ने नीति सरकारले लिनुपर्ने हो।
नेपालमा करिब १०० औषधि उद्योग रहेकामा करिब १० उद्योग बन्द भइसकेका छन् भने करिब ५० उद्योग बन्द हुने अवस्थामा पुगेको उद्योगीहरूले बताएका छन्। सञ्चालनमा रहेका उद्योगसमेत ३० देखि ४० प्रतिशत क्षमतामा मात्र चलिरहेको उनीहरूको दाबी छ।
नेपाल औषधि उत्पादक संघ (एपोन) का पूर्वकेन्द्रीय अध्यक्ष जीनारायणबहादुर क्षेत्रीले नेपाली उद्योग विदेशी औषधिसँग प्रतिस्पर्धा गर्न नसक्नु मुख्य समस्या भएको बताए। उनका अनुसार भारतलगायतका देशबाट करिब २०० उद्योगका औषधि नेपालमा आयात हुने भएकाले लागत प्रतिस्पर्धा असन्तुलित भएको छ।
क्षेत्रीका अनुसार नेपालका उद्योग सीमित बजारका कारण कम उत्पादनमा सीमित हुँदा लागत बढी पर्छ, जबकि भारतजस्ता देशमा ठूलो परिमाणमा उत्पादन हुँदा लागत घट्छ। साथै प्याकेजिङ सामग्री तथा कच्चा पदार्थमा लाग्ने भन्सार र भ्याटले पनि नेपाली उद्योगको लागत बढाएको उनको भनाइ छ।
उनले नेपालमा पर्याप्त उत्पादन हुने औषधिको आयात घटाएर कच्चा पदार्थ मात्र आयात गर्ने नीति आवश्यक रहेको बताए। साथै उद्योग स्थापनाका लागि आवश्यक उपकरण, प्याकेजिङ सामग्री र प्रविधिमा भन्सार छुट दिनुपर्ने मागसमेत गरेका छन्।
नेपाल औषधि उत्पादक संघ का अध्यक्ष विप्लव अधिकारीले करिब ४० अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको औषधि उद्योग क्षेत्र संकटमा रहेको बताए। उनका अनुसार आधा दर्जनभन्दा बढी उद्योग मात्र राम्रो अवस्थामा सञ्चालन भइरहेका छन् भने बाँकी उद्योग ‘सिक इन्डस्ट्रि’ को अवस्थामा पुगेका छन्।
उनले २०७४ सालमा सरकारले नेपालमै उत्पादन हुने ३० प्रकारका औषधि आयात रोक्ने निर्णय गरे पनि कार्यान्वयन हुन नसकेको उल्लेख गरे। साथै उद्योग स्थापनाको प्रारम्भिक चरणमै कर लाग्ने प्रणालीले लागत बढाएको भन्दै उत्पादन सुरु भएपछि मात्र कर लगाउने नीति आवश्यक रहेको उनको भनाइ छ।
नेपालमा वार्षिक करिब सात अर्ब रुपैयाँ बराबरको औषधि खपत हुने अनुमान छ, जसको झण्डै आधा हिस्सा मात्र स्वदेशी उत्पादनले धानेको उद्योगीहरूको भनाइ छ।
नेपाल औषधि उत्पादक संघ का उपाध्यक्ष सन्तोष बरालले पनि विदेशी औषधि आयातमा कडाइ, बैंक ब्याजमा सहुलियत र प्रविधि हस्तान्तरणमा सरकारी सहयोग आवश्यक रहेको बताए। सरकारले उचित नीतिगत सहयोग गरे नेपाली औषधि उद्योग आत्मनिर्भर र दिगो बन्न सक्ने उद्योगीहरूको विश्वास छ।