प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको विरोध जारी
काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा पनि श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन जारी राखेको छ। पार्टीका सांसद हर्क साम्पाङसहितका सांसदहरूले हिजोजस्तै आज पनि बैठकको सुरुमै प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएका हुन्।
सांसद साम्पाङले प्रतिनिधिसभाको नियमावलीअनुसार प्रधानमन्त्रीसहित मन्त्रीहरूलाई संसद्प्रति जवाफदेही बनाउनुपर्ने माग राखेका छन्। उनले सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने विषयलाई जोड दिँदै विरोध प्रदर्शन गरेका हुन्।
विरोधपछि सभामुख डोलप्रसाद अर्यालले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै सांसदहरूलाई बस्न आग्रह गरेका थिए। साथै उनले यस विषयमा संसद् सचिवालयसँग छलफल गर्ने जानकारी दिएपछि बैठकको कारबाही अघि बढाइएको थियो।
श्रम संस्कृति पार्टीले पछिल्ला दिनहरूमा संसद्मा सरकारको जवाफदेहितासम्बन्धी विषय उठाउँदै निरन्तर विरोध जनाउँदै आएको छ।