संसदीय सुनुवाइ समितिको बैठकपछि आजै उजुरीकर्ता र प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ
काठमाडौं — प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका लागि बसेको संघीय संसद्को संसदीय सुनुवाइ समितिको पहिलो बैठक सम्पन्न भएको छ। सिंहदरबारमा बसेको बैठकले विपक्षी दलका सांसदहरूको विरोध र समय मागका बाबजुद आजैका लागि नयाँ कार्यतालिका तय गर्दै पहिलो सत्र समापन गरेको हो।
समितिको नयाँ कार्यतालिका अनुसार बिहान १०:१५ बजेदेखि उजुरीकर्तासँग प्रत्यक्ष छलफल सुरु हुने भएको छ। डा. शर्माविरुद्ध दर्ता भएका १६ वटा उजुरीका सम्बन्धमा उजुरीकर्ताका गुनासा तथा भनाइहरू सुन्ने कार्यक्रम तय गरिएको छ।
त्यसपछि दिउँसो १:३० बजे प्रस्तावित प्रधानन्यायाधीश डा. शर्मालाई सुनुवाइका लागि आमन्त्रण गरिएको छ। उक्त समयमा उनले आफ्नो ६ वर्षे कार्यकालका लागि कार्ययोजना प्रस्तुत गर्नेछन् भने सांसदहरूले उनीसँग प्रश्नोत्तर गर्नेछन्।
यसअघि बैठकमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का सांसदहरूले उजुरी तथा कार्ययोजना अध्ययनका लागि पर्याप्त समय नभएको भन्दै सुनुवाइ प्रक्रिया स्थगित गरी भोलिका लागि सार्न माग गरेका थिए। तर समितिले उजुरीकर्ता र प्रस्तावित प्रधानन्यायाधीश दुवैको सुनुवाइ आजै अघि बढाउने निर्णय गरेको हो।