चाँगुनारायण नगरपालिका ‘योग नगर’ घोषणा हुने, तीनदिने योग महोत्सव आयोजना
भक्तपुरको Bhaktapurस्थित चाँगुनारायण नगरपालिकाले आगामी जेठ ८, ९ र १० गते त्रिदिवसीय कार्यक्रम गर्दै आफूलाई ‘योग नगर’ घोषणा गर्ने भएको छ।
नगरपालिकाले आज आयोजित पत्रकार सम्मेलनमार्फत उक्त निर्णय सार्वजनिक गरेको हो। नगर प्रमुख जीवन खत्रीका अनुसार तीन दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बिहान ५ बजे बृहत् योग विज्ञान शिविर सञ्चालन गरिनेछ। अन्तिम दिन विशेष समारोहका बीच ‘चाँगु योग ज्योति सन्देश स्मारिका’ सार्वजनिक गरिनेछ भने बागमती प्रदेशका मुख्यमन्त्रीबाट नगरलाई औपचारिक रूपमा ‘योग नगर’ घोषणा गरिनेछ।
नगर प्रमुख खत्रीले योग, ध्यान र प्राणायामलाई नगरको जीवनशैलीसँग जोड्ने उद्देश्यसहित यो अभियान अघि सारिएको बताए। उनका अनुसार “प्रत्येक वडामा योग प्रशिक्षणदेखि नियमित योग शिविर सञ्चालन गरी शारीरिक तथा मानसिक स्वास्थ्यलाई सन्तुलित बनाउने” योजना रहेको छ।
नगरपालिकाले विद्यालयस्तरमै योग शिक्षा विस्तार गर्ने, दक्ष योग प्रशिक्षक उत्पादन गर्ने, टोल–टोलमा योग अभ्यास केन्द्र स्थापना गर्ने तथा योग पार्क र ध्यान केन्द्र निर्माण गर्ने योजना पनि अघि सारेको छ। साथै, आयुर्वेद र प्राकृतिक चिकित्सासँग समन्वय गरेर कार्यक्रमलाई विस्तार गरिने बताइएको छ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले “पहिलो सुख निरोगी काया” भन्ने नारासहित योग नगर घोषणाले स्थानीयवासीमा सकारात्मक उत्साह थपिएको उल्लेख गरे।
त्यस्तै, बागमती प्रदेश स्वास्थ्य मन्त्रालय तथा प्रादेशिक योग समितिका सदस्य नवराज काफ्लेले चाँगुनारायण देशकै पहिलो ‘योग नगरपालिका’ बन्न लागेको उल्लेख गर्दै यो अभियानलाई अन्य स्थानीय तहमा पनि विस्तार गर्न सकिने धारणा राखे।
नगरपालिकाले यस अभियानलाई दीर्घकालीन रूपमा संस्थागत गर्दै योगलाई स्थानीय विकास र जनस्वास्थ्य सुधारको आधार बनाउने लक्ष्य राखेको छ।