दलित समुदायमाथिको विभेद अन्त्य गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ — प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि डेरा खोज्दादेखि सामाजिक जीवनका विभिन्न चरणमा हुँदै आएको विभेदको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधिसभाको आजको आकस्मिक समयमा बोल्दै सांसद घतानीले माइतीघर मण्डलामा दीपा नेपालीले “कोठा खाली छ सरकार ?” भन्ने नारासहित सत्याग्रह धर्ना बसेको उल्लेख गरिन्। उनले यो घटना केवल आवासको समस्या मात्र नभई दलित समुदायमाथि वर्षौंदेखि जारी निषेध, विभेद र बहिष्कारविरुद्ध उठेको गम्भीर प्रश्न भएको बताइन्।
सांसद घतानीका अनुसार संविधानले समानता, सामाजिक न्याय, दलित अधिकार तथा छुवाछुतमुक्त राष्ट्रको ग्यारेन्टी गरे पनि व्यवहारमा कार्यान्वयन कमजोर देखिएको छ।
उनले स्नातकोत्तर अध्ययनका लागि आएका किरण विकलाई जात थाहा भएपछि घरबेटीले डेराबाट निकालेको घटना उदाहरण दिँदै अन्ततः उनी सुदूरपश्चिम फर्किन बाध्य भएको बताइन्। त्यस्तै, निरज विश्वकर्माले जातका कारण करिब ४० पटकसम्म डेरा सर्नुपरेको अनुभव पनि संसदमा सुनाइएको उल्लेख गरिन्।
सांसद घतानीले दलित समुदायले शिक्षा, रोजगारी, आवास र सार्वजनिक जीवनमा भोगिरहेको विभेदको व्यवहारिक अन्त्य गर्न सरकारलाई आग्रह गरिन्। उनले यो विषय मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र १९४८ अनुसार मानवअधिकारको संरक्षणसँग प्रत्यक्ष जोडिएको भन्दै राज्यको गम्भीर ध्यान आवश्यक रहेको बताइन्।