जेन-जी मुभमेन्ट नेपालको सांसद कृष्णकुमार कार्कीविरुद्ध कारबाहीको माग
काठमाडौँ — जेन-जी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ–२) लाई भदौ २४, २०८२ मा सिंहदरबार तथा संसद् भवनमा भएको आगजनी र तोडफोड घटनामा प्रत्यक्ष संलग्न भएको आरोप लगाउँदै तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ।
मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी प्रेस विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार, भिडियो तथा तस्बिरहरूमा सांसद कार्की संसद् भवन परिसरमा आगजनीमा संलग्न देखिएको दाबी गरिएको छ। साथै उनले उक्त घटनासम्बन्धी सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गर्दै संलग्नताको संकेत दिएको पनि उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “राज्यको प्रमुख प्रशासनिक तथा संसदीय संरचनामाथिको यस्तो आक्रमण सामान्य राजनीतिक गतिविधि नभई गम्भीर फौजदारी अपराध हो।”
सांसद कार्कीमाथि हालै एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप पनि सार्वजनिक भएको उल्लेख गर्दै उनको आचरण र जिम्मेवारीमाथि प्रश्न उठाइएको छ। साथै संसद् बैठकमा सभामुखले पटक–पटक नाम बोलाउँदा पनि अनुपस्थित रहने विषयले थप विवाद उत्पन्न भएको बताइएको छ।
विज्ञप्तिमा “सुधन गुरुङ प्रकरण” को प्रसंग पनि उठाइएको छ। मुभमेन्टले उक्त घटनामा छानबिन र पक्राउ प्रक्रिया अघि नबढाइएको भन्दै सरकार र सम्बन्धित निकायहरूमाथि प्रश्न उठाएको छ।
जेन-जी मुभमेन्ट नेपालले तीन मुख्य माग अघि सारेको छ—
१. सांसद कृष्णकुमार कार्कीलाई तत्काल पक्राउ गरी आगजनी, तोडफोड र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको अभियोगमा कानुनी प्रक्रिया अघि बढाउनुपर्ने।
२. राजनीतिक संरक्षण र दोषी उन्मुक्तिको संस्कृतिको अन्त्य गर्दै कानुनी राज्यको प्रत्याभूति गरिनुपर्ने।
३. नाइजेरियन युवतीसँग सम्बन्धित आरोपको निष्पक्ष अनुसन्धान गरी पीडितलाई न्याय सुनिश्चित गर्नुपर्ने।
मुभमेन्टले निष्पक्ष अनुसन्धान, कानुनी शासन र दोषीमाथि अविलम्ब कारबाहीको पक्षमा आफूहरू रहेको जनाएको छ।