देशभर पछिल्लो २४ घण्टामा १८ वटा विपद्का घटना, ३ जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा १८ वटा विपद्का घटना दर्ता भएका छन्। ती घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। घटनाबाट करिब ७७ लाख ९२ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।
गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अधिकांश घटना आगलागीसँग सम्बन्धित रहेका छन्। झापाको मेचीनगर, मोरङको बुढीगंगा, दाङको घोराही, धनुषा र बारामा आगलागी हुँदा घर, पसल, फार्म तथा सवारीसाधनमा क्षति पुगेको छ।
अछामको मंगलसेन नगरपालिका–१३ मा आगोले जलेर गम्भीर घाइते भएकी २ वर्षीया बालिकाको उपचारका लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको प्राधिकरणले जनाएको छ।
त्यस्तै, डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित फुलबारी पाटन क्षेत्रमा यार्सागुम्बा संकलनका लागि पुगेकी जुम्लाकी २४ वर्षीया महिलाको लेक लागेर मृत्यु भएको छ। उपचारका लागि लैजाँदै गर्दा बाटोमै उनको ज्यान गएको बताइएको छ। सोही क्षेत्रमा अर्का एक पुरुष पनि लेक लागेर बिरामी परेका छन्।
यस्तै, बाराको कोल्हवी नगरपालिका–१ मा घरअगाडि खेलिरहेका २ वर्षीय बालकलाई सर्पले डस्दा उपचारका क्रममा वीरगन्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको छ।
यसबीच, भोजपुरमा घाँस काट्ने क्रममा सर्पदंशबाट एक जना घाइते भएका छन् भने कञ्चनपुरको कृष्णपुरमा सामुदायिक वनका चौकीदारलाई बाघले आक्रमण गरी घाइते बनाएको प्राधिकरणले जनाएको छ।
बाराको जितपुरसिमरा–२१ आधाभार जंगल क्षेत्रमा दाल बोकेको ट्रकमा तार सर्ट भएर आगलागी हुँदा २१ टन दालसहित ट्रक आंशिक रूपमा जलेको छ। उक्त घटनाबाट मात्रै करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।
त्यसैगरी, काठमाडौँको तिनचुलीस्थित एक खाजाघरमा ग्यास लिक भएर आगलागी हुँदा एक महिला घाइते भएकी छन्। डडेल्धुराको अजयमेरु गाउँपालिकामा वन डढेलो विद्यालय परिसरमा फैलिँदा पोलिहाउसहरू नष्ट भएका छन्।