टीकापुरमा १९३ व्यवसायको अनुगमन, ६५ किलो प्लास्टिक झोला जफत
कैलाली — टीकापुर नगरपालिकाले एक सातामा १९३ फार्म तथा व्यवसायमा अनुगमन गर्दै मापदण्डविपरीत रहेका सामग्री जफत गरेको छ। बजार व्यवस्थापन र उपभोक्ता हित संरक्षणका लागि गरिएको अनुगमनका क्रममा ६५ किलो प्लास्टिकजन्य झोला बरामद गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले गत वर्ष साउनदेखि प्लास्टिकजन्य झोला प्रयोगमा प्रतिबन्ध लगाएको भए पनि लुकीछिपी प्रयोग भइरहेको पाइएको अनुगमन टोलीले जनाएको छ। अनुगमनका क्रममा म्याद नाघेका करिब १८ हजार ९३९ रुपैयाँ बराबरका दैनिक उपभोग्य वस्तु पनि जफत गरिएको छ।
नगरपालिकाका अनुसार ११७ किराना तथा अन्य व्यवसाय, ५२ प्लास्टिक व्यापारी र २४ मेडिकल तथा फार्मेसीमा अनुगमन गरिएको हो। केही व्यवसायीलाई मापदण्ड पूरा गर्न निर्देशन दिइएको छ भने केहीलाई अन्तिम पटक चेतावनीसमेत दिइएको छ।
नगरका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले दर्ता नभएका व्यवसायलाई प्रक्रिया पूरा गर्न समय दिइएको र नवीकरण नगरेकालाई तत्काल दर्ता प्रक्रियामा ल्याइएको बताए। उनले थोक बिक्रेताका गोदाममा भेटिएका प्लास्टिक झोला शिल गरेर बिक्री नगर्न निर्देशन दिइएको जानकारी दिए।
अनुगमनपछि उपभोक्ता सचेतना कार्यक्रम प्रभावकारी बनेको बताउँदै उनले उपभोक्तालाई म्याद हेरेर मात्र सामान किन्ने बानी विकास गर्न आग्रह गरे।
यसैबीच, उपभोक्ता हित संरक्षण मञ्च टीकापुरका अध्यक्ष एकिन्द्र तिमिल्सिनाले अटोरिक्साको भाडादर निर्धारण, ध्वनि प्रदूषण नियन्त्रण र प्लास्टिक नियन्त्रणका लागि नियमित अनुगमन आवश्यक रहेको बताए।
टीकापुर अस्पतालका फार्मेसी इञ्चार्ज जनक शाहले मेडिकल फोहोर व्यवस्थापनमा समस्या रहेको उल्लेख गर्दै समन्वय आवश्यक रहेको बताए। त्यस्तै स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले अनुगमनपछि औषधि पसल दर्ता प्रक्रिया बढेको र स्तनपानसम्बन्धी नियम पालना सुधारिएको जानकारी दिए।
वडा नं १ का वडाध्यक्ष मोहन विकले बजार अनुगमनपछि व्यवसाय दर्ता प्रक्रिया बढेको र प्लास्टिकमुक्त अभियानलाई टोलस्तरसम्म विस्तार गरिएको बताए।