काभ्रेको महाभारत गाउँपालिका लगातार तेस्रो वर्ष ‘शून्य बेरुजु’ सहित उदाहरणीय
काभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका यस वर्ष पनि ‘शून्य बेरुजु’ कायम गर्दै लगातार तेस्रो पटक सो उपलब्धि हासिल गर्न सफल भएको छ।
आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार गाउँपालिकामा कुल एक अर्ब १३ करोड ७१ लाख ९० हजार रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको थियो। सो सम्पूर्ण लेखापरीक्षणमा कुनै पनि बेरुजु नदेखिएको प्रतिवेदनमा उल्लेख छ।
यसअघि पनि दुई आर्थिक वर्ष लगातार शून्य बेरुजु कायम गरेको महाभारत गाउँपालिकाले यस वर्ष तेस्रो पटक सो सफलता दोहोर्याएको हो।
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले संघीय, प्रदेश र स्थानीय तहका ऐन–कानुन तथा गाउँसभाबाट पारित बजेटको प्रभावकारी कार्यान्वयनका कारण शून्य बेरुजु हासिल गर्न सफल भएको बताए। उनका अनुसार अनावश्यक खर्च कटौती गर्दै पुँजीगत खर्चलाई प्राथमिकता दिइएकाले आर्थिक अनुशासन कायम गर्न सहज भएको हो।
उनले जनप्रतिनिधि र कर्मचारीबीचको सामूहिक प्रतिबद्धता तथा नियम–कानुनको कडाइका साथ पालना गर्नु नै लगातारको सफलताको आधार भएको बताए।
सार्वजनिक प्रतिवेदनअनुसार काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये मण्डनदेउपुर नगरपालिकामा सबैभन्दा कम ०.०५ प्रतिशत बेरुजु रहेको छ, जुन कुल लेखापरीक्षण रकमको १० लाख ४९ हजार रुपैयाँ बराबर हो। गाउँपालिकातर्फ चौँरीदेउरालीमा ०.१८ प्रतिशत बेरुजु रहेको उल्लेख छ।
अन्य स्थानीय तहहरूमा पनौती नगरपालिका ३.०४ प्रतिशत, नमोबुद्ध १.३८, धुलिखेल ०.६८, बनेपा ०.७१, पाँचखाल ०.१, बेथानचोक गाउँपालिका ०.५५, तेमाल ०.५, खानीखोला ०.५८, रोशी ०.६२ र भुम्लु गाउँपालिका ०.६८ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ।
महाभारत गाउँपालिकाको यो उपलब्धिलाई स्थानीय तहमा सुशासन र वित्तीय अनुशासनको उदाहरणीय अभ्यासका रूपमा लिइएको छ।