भारत मा पेट्रोल–डिजेलको मूल्य वृद्धि, उपभोग्य वस्तु महँगिने संकेत
नयाँदिल्ली । भारत मा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँले बढाइएको छ । नयाँ मूल्य शुक्रबारदेखि लागू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
नयाँ मूल्यअनुसार राजधानी दिल्लीमा पेट्रोल प्रतिलिटर ९७.७७ रुपैयाँ र डिजेल ९०.६७ रुपैयाँ पुगेको छ । करिब दुई वर्षपछि इन्धनको मूल्य बढाइएको हो ।
पेट्रोल–डिजेलसँगै प्रमुख सहरहरूमा सीएनजी को मूल्य पनि प्रतिकिलो २ रुपैयाँसम्म बढाइएको छ । दिल्लीमा अब एक किलो सीएनजीका लागि ७९.०९ रुपैयाँ तिर्नुपर्ने भएको छ ।
सरकारी तेल कम्पनीहरूले मूल्य वृद्धि भए पनि पेट्रोल र डिजेलमा अझै प्रतिलिटर २५ देखि ३० रुपैयाँसम्म घाटा भइरहेको बताएका छन् ।
डिजेलको मूल्यवृद्धिले मालवाहक सवारीको भाडा बढ्न सक्ने भएकाले तरकारी, फलफूल तथा खाद्यान्नको मूल्यमा असर पर्ने अनुमान गरिएको छ ।
यस्तै, ट्र्याक्टर र पम्पसेट सञ्चालन खर्च बढ्ने भएकाले कृषि उत्पादनको लागतसमेत बढ्न सक्ने बताइएको छ । सार्वजनिक यातायात, स्कूल बस तथा अटोको भाडा पनि बढ्न सक्ने सम्भावना रहेको छ ।
कच्चा तेल महँगिएसँगै सरकारी तेल कम्पनीहरू आर्थिक दबाबमा परेका थिए । यदि अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च नै रहिरहे थप मूल्यवृद्धि हुन सक्ने सम्भावना पनि औंल्याइएको छ ।
भारतीय पेट्रोलियम मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्मा का अनुसार पेट्रोल, डिजेल र एलपीजी बिक्रीबाट कम्पनीहरूलाई हरेक महिना करिब ३० हजार करोड रुपैयाँ नोक्सानी भइरहेको छ ।
विशेषज्ञहरूले अहिले गरिएको ३ रुपैयाँको वृद्धि पर्याप्त नभएको बताउँदै पूर्ण रूपमा घाटा हटाउन पेट्रोलमा प्रतिलिटर करिब २८ रुपैयाँ र डिजेलमा ३२ रुपैयाँसम्म मूल्य बढाउनुपर्ने अवस्था रहेको उल्लेख गरेका छन् ।