जेनजी आन्दोलनको न्यायिक प्रतिवेदन सरकारलाई बुझाइयो, कार्यान्वयन तयारी
काठमाडौं। गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनमा भएको घटनाको जाँचबुझ गर्न गठित न्यायिक आयोगले सोमबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रतिवेदन इमानदारीसाथ तयार पारिएको र तथ्य आधारित भएको बताएका छन्। उनले भविष्यमा यस्ता घटनाबाट जोगिन सुझावसमेत प्रतिवेदनमा राखिएको जानकारी दिए।
आयोगका सदस्य विज्ञानराज शर्माले प्रतिवेदन जाँचबुझ मात्र भएकाले अब कारबाही गर्ने निकायले अनुसन्धान अगाडि बढाउनुपर्ने बताए। अर्का सदस्य विश्वेश्वर भण्डारीले सुशासनका लागि प्रतिवेदनमा उल्लेखित कुरा कार्यान्वयन गर्दा मुलुकको अवस्था धेरै सुधार हुने बताएका छन्।
प्रधानमन्त्री कार्कीले प्रतिवेदन प्राप्त गरेपछि आफू र गृहमन्त्रीले अध्ययन गरी मन्त्रिपरिषद्मा पेस गर्ने र आवश्यक छलफलपछि सार्वजनिक गर्ने बताए। उनले आयोगको कार्यप्रति विश्वास व्यक्त गर्दै भने, “दूधको दूध, पानीको पानी छुट्याएर प्रतिवेदन दिनुभएकोमा धन्यवाद। अब कार्यान्वयनको प्रक्रिया अघि बढ्छ।”