पाकिस्तानमा मनसुनी वर्षा र आँधीबेहरीबाट ११ जनाको मृत्यु
इस्लामाबाद — पाकिस्तानका विभिन्न क्षेत्रमा भारी मनसुनी वर्षासँगै आएको आँधीबेहरी र तीव्र हावाहुरीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।
प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) का अनुसार उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा एक महिला र तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। वर्षाका कारण दुई घर पूर्ण रूपमा ध्वस्त भएका छन् र ३८ घरमा आंशिक क्षति पुगेको छ।
पूर्वी पञ्जाब प्रान्तको अटक जिल्लामा भारी वर्षाका कारण पर्खाल ढलेर दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
त्यसैगरी दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा एक महिला र दुई बालबालिकासहित तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
अधिकारीहरूले आगामी दिनमा थप वर्षा हुने पूर्वानुमान सार्वजनिक गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई बाढी, पहिरो र वर्षासम्बन्धी विपद्प्रति उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।