कोशी प्रदेशसभा बैठकको समय परिवर्तन
विराटनगर — कोशी प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको समय परिवर्तन गरिएको छ।
प्रदेशसभाको नवौँ अधिवेशनको १६औँ बैठक असार ११, असार १६ र आज पनि निर्धारित समयमा बस्न नसकेपछि कोशी प्रदेश सरकारको अनुरोधमा बैठक अब असार १९ गते शुक्रबार दिउँसो १ बजे बस्नेगरी तय गरिएको प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिएका छन्।
उनका अनुसार प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अम्बरबहादुर विष्टले बैठकको नयाँ समय निर्धारण गरेका हुन्।
आजको बैठकको कार्यसूचीमा आर्थिक वर्ष २०८३/८४ का लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धी विधेयकमाथि छलफल गर्ने कार्यक्रम रहेको थियो। छलफलमा सबै मन्त्रालयका विभिन्न शीर्षकमाथि समूहीकृत रूपमा विचार–विमर्श हुने उल्लेख थियो।