जापान–भारत रणनीतिक साझेदारी थप सुदृढ गर्ने प्रतिबद्धता
नयाँदिल्ली — जापानकी प्रधानमन्त्री साने ताकाइचीले भारतसँगको रणनीतिक साझेदारी, आर्थिक सुरक्षा, लगानी र नवप्रवर्तनका क्षेत्रमा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
तीनदिने औपचारिक भारत भ्रमणका क्रममा नयाँदिल्ली पुगेकी प्रधानमन्त्री ताकाइचीले भारतले गरेको न्यानो स्वागतप्रति आभार व्यक्त गर्दै भ्रमणप्रति उत्साहित रहेको बताएकी हुन्।
भारतका केन्द्रीय विज्ञान तथा प्रविधि राज्यमन्त्री जितेन्द्र सिंहले पालम प्राविधिक विमानस्थलमा उनलाई स्वागत गरेका थिए। आगामी १५औँ भारत–जापान वार्षिक शिखर सम्मेलनले दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ताकाइचीको पहिलो भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप गहिरो बनाउने विश्वास व्यक्त गरेका छन्। दुवै नेताबीच द्विपक्षीय तथा क्षेत्रीय विषयमा विस्तृत छलफल हुने बताइएको छ।
प्रधानमन्त्री ताकाइचीले बढ्दो अन्तर्राष्ट्रिय अनिश्चितताबीच समान मूल्य र रणनीतिक हित साझा गर्ने भारतसँगको सहकार्य अझ महत्त्वपूर्ण बन्दै गएको उल्लेख गरेकी छन्। उनले आर्थिक सुरक्षा, लगानी, प्रविधि तथा नवप्रवर्तनमा सहकार्य विस्तार गर्ने विषयमा ठोस प्रगति हुने अपेक्षा व्यक्त गरेकी छन्।
भ्रमणका क्रममा व्यापार, रक्षा सहकार्य, आपूर्ति शृङ्खला र इन्डो–प्यासिफिक क्षेत्रीय सुरक्षालगायत विषयमा उच्चस्तरीय छलफल हुने कार्यक्रम रहेको छ।