मध्यपूर्व द्वन्द्वबीच इरानको तेल रणनीति: संकटलाई अवसरमा रूपान्तरण
मध्यपूर्वमा जारी द्वन्द्वका बीच इरान ले ऊर्जा बजारमा आफ्नो प्रभाव विस्तार गर्दै संकटलाई अवसरमा रूपान्तरण गरेको देखिएको छ। अमेरिका र इजरायल सँगको तनावपूर्ण अवस्थाबीच इरानले आफ्नो प्रमुख तेल निर्यात केन्द्र खार्ग आइल्यान्ड सञ्चालनमै राख्दै वैकल्पिक मार्गमार्फत आपूर्ति निरन्तरता दिएको छ।
अमेरिकाले खार्ग आइल्यान्ड नजिकका सैन्य संरचनामा हमला गरे पनि विश्वव्यापी तेल संकटको जोखिमका कारण तेल टर्मिनललाई प्रत्यक्ष निशाना बनाएको थिएन। यसै अवस्थालाई उपयोग गर्दै इरानले विशेषगरी चीन तर्फ ‘अवैध मार्ग’मार्फत तेल आपूर्ति जारी राखेको छ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी र S&P Global का अनुसार इरानले दैनिक १.७ देखि २ मिलियन ब्यारल तेल निर्यात गरिरहेको छ, जसको करिब ९० प्रतिशत हिस्सा खार्ग टर्मिनलबाटै भइरहेको छ।
यता साउथ पार्स ग्यास फिल्ड मा भएको हमलाले ग्यास निर्यातमा केही असर परेको भए पनि आपूर्ति पूर्ण रूपमा रोकिएको छैन। साथै, होर्मुज स्ट्रेट हुँदै गुज्रिने विदेशी जहाजहरूबाट इरानले प्रति जहाज करिब १६.५ करोड रुपैयाँसम्म ‘वार ट्याक्स’ असुल गरिरहेको जनाइएको छ।
इरानको होर्मुज स्ट्रेटमाथिको नियन्त्रण र लगातारका हमलाका कारण साउदी अरब, कतार, इराक, कुवेत र यूएई जस्ता खाडी राष्ट्रहरूको तेल तथा ग्यास आपूर्ति गम्भीर रूपमा प्रभावित भएको छ। रिपोर्ट अनुसार यी देशहरूको उत्पादन ७० प्रतिशतसम्म घटेको छ।
तेल बजारमा यसको प्रत्यक्ष प्रभाव देखिएको छ। शुक्रबार ब्रेन्ट क्रूडको मूल्य ३.२६ प्रतिशतले बढेर प्रति ब्यारल ११२.१९ डलर पुगेको छ, जुन सन् २०२२ जुलाईपछिको उच्च स्तर हो।
यदि कच्चा तेलको मूल्य १०० डलरभन्दा माथि रहिरह्यो भने दक्षिण एसिया मा महँगी थप बढ्ने अनुमान गरिएको छ। भारत ले आयात गर्ने तेलकै प्रभाव नेपाल सम्म पर्ने भएकाले यहाँ पनि इन्धन मूल्य वृद्धि र समग्र महँगी बढ्ने सम्भावना देखिएको छ।
होर्मुज स्ट्रेटमा अवरोध सिर्जना हुँदा विश्वकै ठूलो तेल निर्यातकर्ता साउदी अराम्को ले उत्पादन कायम राख्न संघर्ष गरिरहेको छ। उत्पादन दैनिक १ करोड ब्यारलबाट घटेर ८० लाख ब्यारलमा झरेको छ।
कतारमा रास लफान ग्यास संरचनामा हमला भएपछि ‘फोर्स मेज्योर’ घोषणा गरिएको छ, जसले विश्वको करिब २० प्रतिशत ग्यास आपूर्तिमा अनिश्चितता ल्याएको छ।
इराकमा BP, Eni र TotalEnergies जस्ता विदेशी कम्पनीहरूले कर्मचारी फिर्ता बोलाएका छन्। उत्पादन ४३ लाख ब्यारलबाट घटेर १३ लाख ब्यारलमा पुगेको छ।
कुवेतको निर्यात लगभग ठप्प भएको छ भने फुजैराह पोर्ट मा पनि गतिविधि घटेको छ। जहाजहरूको बीमा प्रिमियम ४०० प्रतिशतसम्म बढ्दा अन्तर्राष्ट्रिय व्यापार थप महँगो बनेको छ।
ऊर्जा संकट नियन्त्रणका लागि अमेरिका ले २० मार्चदेखि ३० दिनका लागि इरानी तेल खरिदमा प्रतिबन्ध आंशिक रूपमा खुकुलो बनाएको छ। अमेरिकी ट्रेजरी मन्त्री स्कट बेसेन्ट ले यो निर्णय सार्वजनिक गर्दै करिब १४ करोड ब्यारल तेल छिट्टै विश्व बजारमा आउने बताएका छन्।
यो कदमले अस्थायी रूपमा आपूर्ति बढाउने र मूल्यमा परेको दबाब केही हदसम्म कम गर्ने अपेक्षा गरिएको छ।