उपत्यका र पहाडी जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइँदै
फागुपूर्णिमा अर्थात् होली पर्व आज काठमाडौं उपत्यका तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश बोकेर आउने परम्परागत उत्सव हो।
राजधानीका विभिन्न स्थानमा युवायुवतीदेखि बालबालिकासम्मले रङ र अबिर खेल्दै उत्सव मनाइरहेका छन्। केही वर्षअघिसम्म उपत्यकामा उत्ताउलो रूपमा मनाइने होली पछिल्लो समय प्रहरीको सक्रियताका कारण सभ्य र व्यवस्थित बन्दै गएको छ। सडकमा हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने प्रवृत्ति घटेको छ भने फोहर पानी छ्याप्ने गतिविधि पनि न्यून भएको छ।
आज काठमाडौंको वसन्तपुर दरबार क्षेत्र मा उपस्थित सर्वसाधारणले वातावरणलाई रङ्गीचङ्गी बनाउँदै गाडिएको चिरलाई विधिपूर्वक ढालेर बाजागाजासहित टुँडिखेल लगी दहन गर्ने परम्परा निर्वाह गरिरहेका छन्। चिरको खरानीलाई टीका लगाउँदा अनिष्ट टर्छ भन्ने धार्मिक विश्वास छ।
पौराणिक कथाअनुसार त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रह्लादलाई मार्न खोज्दा होलिका स्वयं भष्म भएको प्रसंगसँग यो पर्व जोडिएको छ। साथै द्वापरयुगमा कंशद्वारा पठाइएकी राक्षसनी पुतनाको वधपछि व्रजवासीले उत्सव मनाएको प्रसंग पनि धर्मग्रन्थमा उल्लेख छ।
आयुर्वेदका जानकारहरूका अनुसार प्राकृतिक रङ र अबिर प्रयोग गर्दा स्वास्थ्यमा फाइदा पुग्ने विश्वास पनि रहेको छ।
फागु पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। तराई क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाइने परम्परा अनुसार मंगलबार उत्सव मनाइँदैछ।