खोटाङमा पाँच लाखको अक्षयकोष स्थापना, विद्यालयलाई वाद्यवादन सामग्री हस्तान्तरण
खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा पाँच लाख रुपैयाँको ‘मुगाधन र भलशोभा स्मृति अक्षयकोष’ स्थापना गरिएको छ।
स्वर्गीय मुगाधन र भलशोभा राईको सम्झनामा उनका परिवारजनले उक्त अक्षयकोष स्थापना गरेका हुन्। परिवारका सदस्य ९९ वर्षीय कर्णबहादुर राई, ८७ वर्षीया कुमारीकृष्ण राई तथा स्वर्गीय छोरा राजबहादुर र भुइचालबहादुर राईको परिवारको संयुक्त पहलमा कोष स्थापना गरिएको हो।
अक्षयकोषको मुलधन सुरक्षित राखी त्यसबाट आउने ब्याज विद्यालयको आवश्यक कामकाजमा खर्च गरिने कुमारीकृष्ण राईका छोरा भोगिन्द्र राईले जानकारी दिए। उनका अनुसार कोषको संरक्षकका रूपमा परिवारकै एक सदस्य रहने व्यवस्था गरिएको छ।
“हाम्रा अभिभावक मुगाधन र भलशोभा राई परिवारका लागि प्रेरणाका स्रोत हुनुहुन्छ। उहाँहरूको सम्मानमा अक्षयकोष स्थापना गरेका हौँ,” भोगिन्द्र राईले भने।
यसै अवसरमा स्वर्गीय ध्यानबहादुर राईको सम्झनामा विद्यालयलाई ३४ हजार ५०० रुपैयाँ बराबरका हार्मोनियम, मादल र बाँसुरीसमेत हस्तान्तरण गरिएको छ।
कार्यक्रममा कर्णबहादुर र कुमारीकृष्ण राईलाई अभिनन्दन गरिएको विद्यालयका पूर्वप्रधानाध्यापक वेदीकुमार राईले जानकारी दिए।
त्यस्तै, विद्यालयको शैक्षिक विकास र सौन्दर्यकरणमा ६० हजार ६०० रुपैयाँ सहयोग गरेका स्थानीय तथा जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङका लेखापाल प्रेमकुमार राईलाई गत शुक्रबार आयोजित कार्यक्रममा सम्मान गरिएको छ।