धुलिखेल–खावा सडकखण्ड राति बन्द, स्तरोन्नति तीव्र
काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा स्तरोन्नति कार्य तीव्र पार्दै सवारी आवागमनमा अस्थायी रोक लगाइएको छ।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार कालोपत्र (पक्की) निर्माणका लागि शनिबार रातिदेखि दुई सातासम्म हरेक दिन साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ। यस अवधिमा टिपरलगायत मालवाहक सवारीसाधनलाई पूर्ण रूपमा रोक लगाइएको छ।
कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुनम योगेशका अनुसार चार किलोमिटर सडकखण्डमध्ये चैत महिनाभित्र २.५ किलोमिटर र बाँकी भाग वैशाखमा कालोपत्र गर्ने लक्ष्य लिइएको छ। कामअन्तर्गत पहिले सिटीभी बिछ्याइने र त्यसपछि पक्की निर्माण गरिने जनाइएको छ।
लामो समय निर्माण कम्पनीको ढिलासुस्तीका कारण रोकिएको आयोजना नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता भएपछि पुनः अघि बढाइएको हो। हाल कटिङ, टेवा पर्खाल र साना संरचना निर्माण भइरहेको छ। चिसो मौसमका कारण सतहको काम रोकिएकोमा अब मौसम सुधारसँगै कालोपत्र थालिएको कार्यालयले जनाएको छ।
१४ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित सीएनएवान काली जेभीसँग करिब ३१ करोड ५६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ। सडक सात मिटर चौडा हुने र पहिरो व्यवस्थापनका लागि नयाँ प्रविधि प्रयोग गरिने पनि जनाइएको छ।
निर्माण ढिलाइका कारण तीन वर्षदेखि यात्रुहरूले सास्ती खेप्दै आएका छन्। यसअघि तोकिएको समयमा काम नगरेपछि पुरानो ठेक्का रद्द गरिएको थियो।
धुलिखेलदेखि खावासम्मको यो सडक तातोपानी नाका हुँदै चीनसँगको व्यापारिक आवागमन तथा दोलखा, रामेछापलगायत जिल्लासँगको यातायातका लागि अत्यन्त महत्वपूर्ण मार्ग हो।