खानीडाँडा–याम्खा सडक कालोपत्र सुरु, २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य
खोटाङ । कोशी प्रदेश अन्तर्गत खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमी बजार जोड्ने सडकमा कालोपत्रको काम सुरु गरिएको छ ।
बहुवर्षीय योजनाअन्तर्गत विनियोजित ३० करोड बजेटमध्ये १७ करोड ३० लाख रुपैयाँमा ठेक्का सम्झौता गरी युएसजी–रक्तकन्या–हिमशृङ्खला जेभीले काम थालेको हो । सम्झौताअनुसार आहालेदेखि याम्खासम्म ८.२ किलोमिटर सडक दुई वर्षभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सडकको शिलान्यास भुपेन्द्र राईले गर्दै समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् । उक्त सडकले खोटाङको दक्षिणी भेगसँग सिधा सम्पर्क स्थापित गर्दै आवतजावत सहज बनाउने अपेक्षा गरिएको छ ।
यसअघि रसुवा–पाँचधारे सडकमा कालोपत्र सुरु भइसकेको छ भने अन्य सडक योजनाहरू पनि अघि बढिरहेका छन् । सडक सम्पन्न भएपछि यातायात सहज हुनुका साथै आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।