म्याग्दीमा दोवादेखि धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण सुरु
बेनी, म्याग्दी — म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ दोवादेखि धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण कार्य सुरु गरिएको छ। चालु आर्थिक वर्षमा विनियोजन गरिएको १० लाख रुपैयाँ बजेटबाट उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण थालिएको हो।
उपभोक्ता समितिका अध्यक्ष विकास पुनका अनुसार फागुन पहिलो सातासम्म गरेकदेखि गुन्थली भिर, देउराली डाँडा, ठूलोखानी, भित्रे वन, ठुलो घैरा भर्याङ हुँदै भिरखर्कसम्म पदमार्ग निर्माण सम्पन्न भइसकेको छ। प्राविधिक नक्साअनुसार हालसम्म तीन किलोमिटर पदमार्ग निर्माण सकिएको र थप एक किलोमिटर निर्माणाधीन रहेको उनले जानकारी दिए।
निर्माण कार्यमा दोवाका करिब २० जना स्थानीय बासिन्दा संलग्न छन्। निर्माणस्थल बस्तीबाट टाढा भएकाले उनीहरू जंगलमै त्रिपालको अस्थायी गोठ बनाएर बस्दै काम गरिरहेका छन्।
उपभोक्ता समितिका अनुसार चालु आर्थिक वर्षभित्र खोलाखर्कसम्म पदमार्ग विस्तार गरिनेछ। परापूर्वकालमा दोवाबासीले लेकबेँसी गर्दा प्रयोग गर्दै आएको गोरेटो बाटो पहिचान गरी त्यसलाई व्यवस्थित पदमार्गको रूपमा विकास गर्न लागिएको वडा अध्यक्ष दिलिप गर्बुजाले बताए।
बेनी–जोमसोम सडक निर्माणपछि करिब १५ वर्षअघि म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि आइसफल पदमार्गको पहिचान भएको थियो। रघुगङ्गा गाउँपालिकाको राखुबाट सुरु हुने उक्त पदमार्ग मुस्ताङको लेतेसम्म पुग्छ। मुख्य पदमार्गमा आसपासका बस्तीहरूबाट सहायक पदमार्ग जोड्ने काम पनि भइरहेको छ।
मगर समुदायको बाहुल्य बसोबास रहेको दोवाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आइसफलसम्म सहज पहुँच पुर्याउन पदमार्ग निर्माण थालिएको वडा अध्यक्ष गर्बुजाले बताए। स्थानीय तहले यो परियोजनालाई पर्यटन पूर्वाधार विकासको महत्वपूर्ण कदमका रूपमा लिएको छ।