‘अहिलेको निर्वाचन सामान्य होइन, असाधारण हो’ : संयोजक प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई सामान्य रूपमा नबुझ्न आग्रह गर्दै यसलाई ‘असाधारण निर्वाचन’को संज्ञा दिनुभएको छ।
बिहीबार बागलुङको बुर्तीबाङमा आयोजित नेता–कार्यकर्तासँगको संवाद कार्यक्रममा बोल्दै उहाँले यो निर्वाचन उम्मेदवारबीचको सामान्य प्रतिस्पर्धा मात्र नभई राष्ट्रलाई विध्वंस गर्ने प्रवृत्तिविरुद्धको संघर्ष भएको बताउनुभयो।
‘यो निर्वाचन सामान्य रूपमा आउँछ–जान्छ भन्ने खालको होइन, यो असाधारण निर्वाचन हो,’ प्रचण्डले भन्नुभयो, ‘यहाँ लडाइँ केही उम्मेदवारबीच मात्र होइन, देशलाई अस्थिर बनाउने तत्व र विदेशी हस्तक्षेपविरुद्ध हो।’
उहाँले भदौ २४ गते देखिएको घटनापछि राष्ट्रलाई जोगाउन सबै शक्तिहरूबीच राष्ट्रिय एकता आवश्यक रहेको उल्लेख गर्दै सबैखाले अतिवादी र विध्वंसकारी प्रवृत्तिविरुद्ध एकजुट हुन आह्वान गर्नुभयो। यसका लागि आफू र माधव नेपालले एकताको पहल सुरु गरिसकेको पनि जानकारी दिनुभयो।