धान घट्दा चामल आयात ह्वात्तै बढ्यो, ७ महिनामा २५ अर्ब ४८ करोडको आयात
१० फागुन, काठमाडौं । कृषिप्रधान देश नेपालमा धान–चामल आयात बर्सेनि बढ्दो क्रममा देखिएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि माघसम्म ७ महिनामा नेपालले २५ अर्ब ४८ करोड ५८ लाख रुपैयाँ बराबरको धान–चामल आयात गरेको छ।
गत आव २०८१/८२ को सोही अवधिमा यस्तो आयात २५ अर्ब ३७ करोड ५२ लाख रुपैयाँ बराबर थियो। समग्र आयात रकममा सामान्य वृद्धि भए पनि धानको सट्टा तयारी चामल आयात गर्ने प्रवृत्ति भने उल्लेखनीय रूपमा बढेको छ।
गत वर्ष १४ अर्ब ५१ करोड रुपैयाँको ३ लाख ८१ हजार ६ सय २२ टन धान आयात भएकोमा चालु वर्ष ७ महिनामा घटेर १२ अर्ब ७४ करोडको ३ लाख ४८ हजार १ सय ३७ टनमा सीमित भएको छ। तर, चामल आयात भने ६ अर्ब २० करोडको ९२ हजार ७ सय ५१ टनबाट बढेर ७ अर्ब २४ करोडको १ लाख १३ हजार ७ सय ९३ टन पुगेको छ।
त्यस्तै बासमती चामल आयात पनि गत वर्ष ४० हजार ४ सय ४९ टन (४ अर्ब ५७ करोड) बाट बढेर यस वर्ष ४६ हजार १३ टन (५ अर्ब १२ करोड) पुगेको छ। कनिका र धानको बिउ आयातसमेत उल्लेख्य रूपमा बढेको छ।
धान–चामलको आयात बढे पनि यसबाट संकलन हुने भन्सार राजस्व भने घटेको छ। गत आव ७ महिनामा २ अर्ब ३१ करोड रुपैयाँ राजस्व उठेकोमा चालु वर्ष सोही अवधिमा १ अर्ब ७७ करोडमा सीमित भएको छ। धान आयात घट्नु र चामलको राजस्व दर परिवर्तन हुनु यसको मुख्य कारण मानिएको छ।
मुख्य खाद्यान्नमै अर्बौं रुपैयाँ बाहिरिँदा व्यापार घाटा बढ्नुका साथै कृषिमा आत्मनिर्भर बन्ने सरकारी लक्ष्यमा गम्भीर चुनौती थपिएको छ।