हिमपातले ढाकिए मनाङका मतदान केन्द्र, निर्वाचन तयारीमा सकस
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मनाङ जिल्लामा भएको हिमपातका कारण माथिल्लो क्षेत्रका अधिकांश मतदान केन्द्र हिउँले सेताम्मे बनेका छन्, जसले निर्वाचन तयारीमा कठिनाइ सिर्जना गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार हिमपातले अनुगमन, मतदान केन्द्र व्यवस्थापन र आवश्यक सामग्री ढुवानीमा समस्या देखिएको छ। “निर्वाचनको तयारी मुख्य प्राथमिकता बनेको समयमा हिमपातले सकस बढाएको छ,” उनले बताए।
माथिल्लो मनाङ र नार्पाभूमि गाउँपालिकामा हिउँले बाटो नै ढाकिएकाले आवागमन कठिन भएको छ। नार्पाभूमिमा अझै सडक सञ्जालको पहुँच नपुगेकाले त्यहाँ निर्वाचन सामग्री ढुवानी थप चुनौतीपूर्ण बनेको छ।
जिल्लामा कुल सात हजार मतदाता रहेका छन् भने एक अस्थायीसहित २९ वटा मतदान केन्द्र तोकिएका छन्। तीमध्ये नार्पाभूमिका पाँच र मनाङ ङिस्याङका नौ मतदान केन्द्र हिउँले पूर्ण रूपमा ढाकिएका छन्।
हिमपातका कारण जाडो छल्न बाहिर गएका स्थानीयवासीहरू अझै फर्कन नसकेको जनाइएको छ। प्रशासनले सडक सञ्जाल व्यवस्थापन र निर्वाचन तयारीलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ।