नारायण गोपाल चोक–चप्पल कारखाना खण्डमा चक्रपथ विस्तार ५० प्रतिशत सम्पन्न
काठमाडौं — चक्रपथ विस्तार अन्तर्गत नारायण गोपाल चोकदेखि चप्पल कारखानासम्मको सडक विस्तार कार्य करिब ५० प्रतिशत सम्पन्न भएको छ।
चीन सरकारको अनुदानमा निर्माण गर्ने भनिएको कलंकी–बसुन्धरा खण्डमा ढिलाइ भएपछि नेपाल सरकारले उक्त क्षेत्रमा आफ्नै लगानीमा काम अघि बढाएको हो। चालु आर्थिक वर्षका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
उपलब्ध बजेटका आधारमा हाल करिब सात सय मिटर दूरीमा ठेक्का सम्झौता गरी निर्माण कार्य अघि बढाइएको छ। पहिलो चरणमा सोही खण्डमा कालोपत्रे गर्ने तयारी गरिएको सम्बन्धित निकायले जनाएको छ।
दीर्घकालीन योजनाअनुसार महाराजगन्जदेखि धोबीखोला (गोपीकृष्ण पुल)सम्म सडक विस्तार गर्ने लक्ष्य रहेको छ। यस खण्डको काम समयमै सम्पन्न भएमा चक्रपथ क्षेत्रको यातायात व्यवस्थापनमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ।