प्रतिनिधिसभा निर्वाचनः १ करोड ५७ लाखभन्दा बढी मतपत्र छपाइ सकियो, १२ जिल्लामा ढुवानी सुरु
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको १ करोड ५७ लाखभन्दा बढी मतपत्र छपाइ कार्य सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रका लागि आवश्यक मतपत्र छापिइसकेको छ।
निर्वाचन आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ कुल २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्नेमा १ करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ सम्पन्न भइसकेको हो। समानुपातिकतर्फको मतपत्र छपाइ तथा रुजु कार्य पूरा भई ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ।
आजदेखि कर्णाली प्रदेशका जिल्लामा मतपत्र ढुवानी सुरु गरिएको छ। सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत गरी १० जिल्लामा ढुवानी सम्पन्न भइसकेको आयोगले जनाएको छ।
निर्वाचन आयोगले आगामी फागुन १२ गतेभित्र १६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र पुर्याइसक्ने लक्ष्यसहित काम गरिरहेको जनाएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले दैनिक करिब १५ लाख मतपत्र छापिरहेको छ।