भरतपुरमा पोटहोल मर्मतका लागि रेडिमेड प्रिमिक्स उत्पादन सुरु
भरतपुर, – जिल्लाका मुख्य सडकमा साना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत् अवस्थामा ल्याई आवागमन सहज बनाउन सडक डिभिजन कार्यालय भरतपुरले धमाधम रेडिमेड प्रिमिक्स (रेडिमिक्स) बनाएको छ।
कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार सामान्य सिमेन्ट प्रयोग गरेर तयार पारिने उक्त प्रिमिक्सको आयु कम्तीमा छ महिनासम्म रहनेछ। “सडक पोटहोलको मर्मत नियमित रूपमा हुने हो। कार्यालयअन्तर्गतका सडकको मर्मतका लागि हामी रेडिमेड प्रिमिक्स आफैं निर्माण गरी प्रयोग गरिरहेका छौँ,” उनले बताए।
रेडिमेड प्रिमिक्स बनाउन बिटुमिन (एमसी–एटर्नेट) र स्टोन चिप्स प्रयोग गरिन्छ। करिब ८० डिग्री सेल्सियस तापक्रममा मिक्सिङ गरी चिसिएपछि बोरा प्याक गरेर भण्डारण गरिन्छ। आवश्यकता अनुसार तुरुन्त मर्मत गर्न सकिने भएकाले यो प्रविधि कम खर्च र कम जनशक्तिमा उपयोगी रहेको अधिकारीले बताए।
सडक डिभिजन कार्यालयले विसं २०७६ देखि पाइलट प्रोजेक्टका रूपमा रेडिमेड प्रिमिक्स निर्माण गर्दै आएको छ। हाल करिब १,५०० बोरा रेडिमेड प्रिमिक्स तयारी अवस्थामा राखिएको छ र आवश्यकतानुसार थप परिमाण बढाउने योजना छ।
कार्यालयले जिल्लाको नारायणगढ–मुग्लिन, नारायणगढ–लोथर, भरतपुर–माडी तथा भरतपुर–मेघौली सडक खण्डमा नियमित मर्मत कार्य भइरहेको जानकारी दिएको छ। सवारीको भारी चाप, डिजाइन लोडभन्दा बढी भार र वर्षायाममा पानीको बहावले सडकमा क्षति हुने भएकाले हिउँदको तुलनामा वर्षा बेला मर्मतको आवश्यकता बढी हुने बताए।