सहिदहरूको सम्झनामा जेनजी सुशासन योद्धा परिवारद्वारा क्षमायाचना पूजा
काठमाडौं — जेनजी सुशासन योद्धा परिवारले जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिहरूको सम्झनामा भावपूर्ण क्षमायाचना पूजा तथा होम आयोजना गरेको छ।
नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आयोजित कार्यक्रममा सहिद परिवारका सदस्य, योद्धा परिवारका प्रतिनिधि तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहिदहरूको आत्मशान्तिको कामनासहित धार्मिक विधिअनुसार पूजा सम्पन्न गरिएको आयोजकले जनाएको छ।
सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जना प्रदर्शनकारीलाई सहिद घोषणा गरेको छ। उनीहरूको बलिदानको सम्मानस्वरूप यस्तो कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
कार्यक्रममा सहभागीहरूले सहिदहरूको योगदान स्मरण गर्दै सुशासन, न्याय र लोकतन्त्रका पक्षमा निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। जेनजी सुशासन योद्धा परिवारले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने जनाएको छ।