रास्वपाको केन्द्रीय समितिमा मेयर बालेन शाहसहित २६ जना मनोनीत
काठमाडौं, २० पुस ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ ।
आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले मेयर शाहसहित २६ जनालाई केन्द्रीय समितिमा अनुमोदन गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार यसअघि आजै दिउँसो रास्वपाले विवेकशील साझा पार्टीबाट आएका ७ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो । त्यसपछि पुनः बसेको बैठकले बालेन शाहसहित नयाँ सदस्यहरूलाई केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले पार्टीको संगठनात्मक संरचना विस्तार गर्दै केन्द्रीय तहमा ४ जना पदाधिकारीको संख्या थप गर्ने निर्णय पनि गरेको छ ।
पार्टीले केन्द्रीय समिति विस्तारलाई संगठन सुदृढीकरण र आगामी राजनीतिक गतिविधिका लागि आवश्यक कदमको रूपमा लिएको जनाएको छ ।