कालीकोटमा जीप दुर्घटना: तीन जनाको घटनास्थलमै मृत्यु
कालीकोट — कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
सेरी–पान्तडी सडक खण्डअन्तर्गत सल्लेरीमा शुक्रबार बेलुका उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर भीरबाट खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।
कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीका अनुसार दुर्घटनामा दुई जना स्काभेटर अपरेटर र एक जना सहचालकको ज्यान गएको छ। मृत्यु हुनेमा दैलेखको आठबिस नगरपालिका घर भएका २८ वर्षीय शंकर कठायत, अछामका टेकेन्द्र शाही तथा सहचालक कालीकोटको शुभकालिका गाउँपालिका–२ का नवराज शाही रहेका छन्। मृतक तीनै जना सेरी–पान्तडी सडक खन्ने काममा संलग्न थिए।
दुर्घटनापछि जीप सडकबाट करिब ५०० मिटर तल खसेर तिला नदीको किनारमा पुगेको प्रहरीले जनाएको छ। भीरबाट शव निकालेर परीक्षणका लागि सदरमुकाम मान्म लैजाने तयारी भइरहेको प्रहरी प्रमुख खत्रीले जानकारी दिए।
जीप चालक प्रहरीको सम्पर्कमा आएको भए पनि विस्तृत सोधपुछ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको जानकारी पाउनासाथ सदरमुकाम मान्मबाट प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयल, प्रहरी प्रमुख खत्रीसहित जनपद प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो।