जाजरकोटमा पत्नी हत्या आरोपित तीन वर्षपछि पक्राउ
काठमाडौँ । जाजरकोटको छेडागाड नगरपालिका–१३ पिपलतडामा पत्नीको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पिपलतडा निवासी भद्र बहादुर सुनार रहेका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार उनलाई पिपलतडाबाट कार्कीगाउँतर्फ जाने सडकखण्डबाट पक्राउ गरिएको हो।
प्रहरीको अनुसन्धानअनुसार २०७९ मङ्सिर १० गते सुनारले आफ्नी ३४ वर्षीया पत्नी पानसरा सुनारको हत्या गरेका थिए। घटनापछि उनी फरार अवस्थामा थिए।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका इन्स्पेक्टर सुधीर कुमार खड्काका अनुसार पुस २० गते पक्राउ परेका सुनारलाई अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।