रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्यावस्था सामान्य
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्यावस्था सामान्य रहेको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जनाएको छ।
देब्रे खुट्टामा सङ्क्रमण (सेलुलाइटिस) देखिएपछि लामिछाने हिजोदेखि अस्पतालमा भर्ना भई उपचाररत छन्। अस्पतालका प्रवक्ता डा. गोपाल सेढाइका अनुसार उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ र नशाबाट आइभी एन्टिबायोटिकमार्फत उपचार भइरहेको छ।
माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा लामिछानेको देब्रे खुट्टामा चोट लागेको थियो। औषधि सेवन गर्दा पनि सञ्चो नभएपछि सङ्क्रमण बढ्दै सेलुलाइटिस देखिएपछि अस्पतालमा भर्ना गरिएको पार्टीका सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।
चिकित्सकको सल्लाहअनुसार सङ्क्रमण जोखिमयुक्त हुनसक्ने भएकाले केही दिन अस्पतालमै निगरानीसहित उपचार भइरहेको उनको भनाइ छ।
“चोट आफैँमा गम्भीर नभए पनि सङ्क्रमण फैलिनसक्ने सम्भावनालाई ध्यानमा राख्दै पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र सभापति पुनः नियमित राजनीतिक तथा सांगठनिक गतिविधिमा फर्किनु हुनेछ,” सहप्रवक्ता रावलले भनिन्।