काठमाडौं महानगरले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने
काठमाडौं महानगरपालिकाले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। महानगरले आगामी माघ महिनादेखि दीर्घ रोगी तथा अशक्त ज्येष्ठ नागरिकको घरघरमै स्वास्थ्य परीक्षण सुरु गर्ने जनाएको छ।
महानगर स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार ७० वर्षमाथिका अस्पताल वा स्वास्थ्य केन्द्रसम्म जान नसक्ने ज्येष्ठ नागरिकलाई लक्षित गरी यो सेवा सुरु गर्न लागिएको हो। महानगरका ३२ वटै सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कार्यरत स्टाफ नर्सले सम्बन्धित वडाभित्रका ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्नेछन्।
महानगरका चिकित्सक डा. दिवस न्यौपानेका अनुसार सुरुमा स्टाफ नर्सले ज्येष्ठ नागरिकको घरमै पुगेर शारीरिक तथा मानसिक स्वास्थ्य अवस्थाको विवरण संकलन गर्नेछन्। आवश्यक परेमा चिकित्सक स्वयं घरमै पुगेर उपचार गर्ने व्यवस्था मिलाइने छ।
‘स्टाफ नर्सले उच्च रक्तचाप, मधुमेहलगायतका सामान्य स्वास्थ्य परीक्षण गर्दै ज्येष्ठ नागरिकको विस्तृत स्वास्थ्य प्रतिवेदन तयार पार्नेछन्,’ डा. न्यौपानेले भने, ‘त्यसकै आधारमा रोग पहिचान गरी उपचार गरिने छ र थप उपचार आवश्यक परेमा अस्पतालसम्म लैजाने व्यवस्था पनि गरिने छ।’
स्वास्थ्य विभाग प्रमुख केसीका अनुसार ७० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि सबै वडाका स्टाफ नर्सलाई आवश्यक तालिम दिइसकिएको छ। ‘वडाध्यक्ष र स्वास्थ्य केन्द्रका इञ्चार्जसँग समन्वय गरी अब घरघरमै गएर सेवा सुरु गर्छौँ,’ उनले भने।
महानगरका अनुसार काठमाडौंमा हाल ७० वर्षभन्दा माथिका करिब २३ हजार ज्येष्ठ नागरिक रहेका छन्। ज्येष्ठ नागरिकमैत्री स्वास्थ्य सेवा विस्तार गर्ने महानगरको यो कदमलाई महत्वपूर्ण मानिएको छ।