देउवा पक्ष सर्वोच्च अदालतमा, निर्वाचन आयोगको निर्णयविरुद्ध रिट दर्ता
काठमाडौं । दोस्रो विशेष महाधिवेशनपछि सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ।
निर्वाचन आयोगले गत शुक्रबार थापा पक्षलाई मान्यता दिएको निर्णयविरुद्ध देउवा पक्षका नेताहरूले सर्वोच्चमा रिट दर्ता गरेका हुन्। देउवा पक्षका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले आयोगको निर्णय आफूहरूलाई नसोधी गरिएको भन्दै त्यसविरुद्ध रिट दर्ता भइसकेको जानकारी दिए।
उनका अनुसार सकेसम्म आजै रिट पेशीमा चढ्ने र आदेश आउने अपेक्षा गरिएको छ। आज सुनुवाइ नभए भोलि बिदा भएकाले पर्सि मंगलबार बिहानै सर्वोच्चले आयोगको निर्णयमा आदेश दिने आशा देउवा पक्षले गरेको छ।
हाल कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा देउवा पक्षका नेताहरू सर्वोच्च अदालतमा उपस्थित भएका छन्। निर्वाचन आयोगले गगन थापालाई मान्यता दिएपछि विघटित कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार सानेपामा बसेको बैठकले सर्वोच्च जाने निर्णय गरेको थियो।
यस रिटमा सर्वोच्चले यथाशीघ्र आदेश दिनुपर्ने अवस्था छ। माघ ६ गते प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मनोनयनको समय तोकिएकाले त्यसअघि नै कांग्रेसको विवाद टुंगो लागे फागुन २१ को निर्वाचन सम्भव हुने देखिन्छ।
तर विवाद लम्बिएर सर्वोच्चको आदेश ढिला भए निर्वाचन नै पछि सर्न सक्ने जोखिम पनि बढेको छ।