कास्की–३ मा १५ जनाको उम्मेदवारी, एमालेबाहेक सबै दलका नयाँ अनुहार मैदानमा
६ माघ, पोखरा । कास्की–३ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल (वैरागी) बाहेक सबै उम्मेदवार नयाँ अनुहार रहेका छन्।
२०६४ सालमा माओवादी र त्यसपछिका निर्वाचनमा निरन्तर एमालेले जित हासिल गर्दै आएको कास्की–३ मा यसपटक अधिकांश दलले नयाँ उम्मेदवारलाई मैदानमा उतारेका हुन्। एमालेले कास्कीका दुईवटै निर्वाचन क्षेत्रमा नयाँ अनुहारलाई टिकट दिए पनि कास्की–३ मा भने निवर्तमान सांसद वैरागीलाई दोहोर्याएको छ।
एमाले सचिव खगराज अधिकारीनिकट मानिने वैरागीलाई पार्टीले अनुभवी र निर्विवादित नेताका रूपमा अघि सारेको छ। लामो समय संगठनमा सक्रिय रहे पनि कम अवसर पाएको भन्दै मतदातालाई पुनः आकर्षित गर्न एमाले चुनावी मैदानमा उत्रिएको छ।
नेपाली कांग्रेसले भने शेरबहादुर देउवा समूहका मनोज गुरुङलाई उम्मेदवार बनाएको छ। नेपाल तरुण दल कास्कीका अध्यक्ष, केन्द्रीय सदस्य तथा हाल कास्की–३ का सभापति रहेका गुरुङ यसअघि पनि टिकटका आकांक्षी थिए। तर, अघिल्लो निर्वाचनमा पाँच दलीय गठबन्धनका कारण माओवादीलाई टिकट परेपछि उनी अवसरबाट वञ्चित भएका थिए।
यसपटक विशेष महाधिवेशनको विपक्षमा उभिएका देउवा समूहका गुरुङलाई गगन थापा नेतृत्वले टिकट दिएर प्रतिस्पर्धामा उतारेको हो। जनजातिको बाहुल्यता रहेको क्षेत्र भएकाले पार्टी एकताका साथ अघि बढेमा जित सम्भव हुने दाबी गुरुङको छ। उनले मनोनयन दर्ताका क्रममा कांग्रेसका नयाँ–पुराना नेताहरूसँग संयुक्त उपस्थिति जनाएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की–३ मा बिना गुरुङलाई उम्मेदवार बनाएको छ। रास्वपा कास्कीकी कोषाध्यक्षसमेत रहेकी गुरुङ पोखरामा महिला सशक्तीकरण, व्यवसाय र विभिन्न सामाजिक संघसंस्थामा सक्रिय छन्। यस क्षेत्रमा रास्वपाका सभापति यदु अधिकारी, गण्डकी प्रदेश महामन्त्री नवीन त्रिपाठीलगायत आकांक्षी रहे पनि अन्ततः गुरुङलाई टिकट दिइएको हो। अघिल्लो निर्वाचनमा तेस्रो लोकप्रिय मत ल्याएको रास्वपा यसपटक परिवर्तनको एजेन्डासहित बलियो बनेको दाबी पार्टीको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट गोपाल गिरी उम्मेदवार बनेका छन्। एकीकृत समाजवादीबाट नेकपामा आएका गिरीलाई अन्तिम समयमा टिकट दिइएको हो। यसअघि प्रेम पौडेलले उम्मेदवार नबन्ने बताएपछि नेकपाले गिरीलाई अघि सारेको जनाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट केन्द्रीय सदस्य अर्जुन खनाल उम्मेदवार बनेका छन्। कडा वाककलामा परिचित खनालले ‘जेनजी’ र परिवर्तनमुखी युवालाई लक्षित गर्दै चुनावी अभियान अघि बढाउने बताएका छन्।
यसैगरी उज्यालो नेपाल पार्टीबाट तर्कबहादुर गुरुङ र नेकपा माओवादी केन्द्रबाट कमल खड्का विश्वकर्माले पनि उम्मेदवारी दर्ता गराएका छन्।
नयाँ अनुहारको बाहुल्यता र बहुदलीय प्रतिस्पर्धाका कारण कास्की–३ को निर्वाचन यसपटक रोचक हुने देखिएको छ।