गृहमन्त्री अर्याल र निर्वाचन आयोगबीच प्रतिनिधिसभा निर्वाचन तयारीमा छलफल
काठमाडौं, ३ माघ — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भएको तयारीको विषयमा गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ।
मन्त्री अर्यालले आज आयोगको कार्यालय, बहादुर भवनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीसँग भेटघाट गरेका हुन्।
त्यस अवसरमा आयुक्त भण्डारीले निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेको र करिब ८० प्रतिशतभन्दा बढी निर्वाचन तयारी सम्पन्न भएको जानकारी गराए। उनले आयोगबाट स्वीकृत कार्यतालिकाअनुसार निर्वाचन काम नियमित रूपमा अघि बढिरहेको र यही माघ ११ गते राष्ट्रियसभाको निर्वाचन समेत हुने जानकारी दिए। साथै निर्वाचन आचारसंहिता पालनामा सूक्ष्म अनुगमन गरिने बताए।
गृहमन्त्री अर्यालले मन्त्रालय र आयोगबीच दोहोरो समन्वय कायम हुने गरी सहकार्य गरिने विश्वास दिलाउँदै निर्वाचन तयारी, मतदान प्रक्रिया र मत गणनासम्मको एकीकृत सुरक्षा योजनाअनुसार सरकारले पर्याप्त सुरक्षा प्रत्याभूति दिने पनि स्पष्ट गरे।
आयोगका सचिव कृष्णबहादुर राउतले राष्ट्रियसभा सदस्य निर्वाचनको मतपत्र छपाइ सकिएको र अब मतपत्र तथा निर्वाचन सामग्री सम्बन्धित कार्यालयमा पठाउने चरणमा रहेको जानकारी दिएका छन्।