मकवानपुरको जुरीखेत जिप दुर्घटना: ६ जनाको मृत्यु, ३ जना घाइते
हेटौंडा, २० पुस ।काठमाडौं–हेटौंडा जोड्ने छोटो राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा भएको जिप दुर्घटनामा परी घाइते भएका मध्ये ६ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुष्कर बोगटीका अनुसार मृतकहरूको पहिचान हालसम्म खुल्न सकेको छैन ।
काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको जिप आइतबार साँझ भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटनामा परेको हो । जिप सडकबाट करिब एकसय मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ ।
जिपमा ९ जना सवार रहेका थिए । दुर्घटनापछि घाइते सबैलाई प्रहरीले घटनास्थलबाट उद्धार गरी उपचारका लागि हेटौंडा पठाएको थियो । उपचारकै क्रममा ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।