प्रवक्ता खरेल भन्छन्– फागुन २१ को निर्वाचन नसर्छ
२ माघ, काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते तय गरिएको निर्वाचनको मिति नसर्ने स्पष्ट पारेका छन्।
मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता खरेलले कांग्रेसभित्र देखिएको विवादका कारण निर्वाचन र मनोनयनको मिति सर्ने हो कि भन्ने प्रश्नको जवाफमा निर्वाचन तोकिएकै मितिमा हुने बताए।
“फागुन २१ मा निर्वाचनको मिति तोकिएको छ, त्योभन्दा यताउता हुँदैन,” उनले भने, “सरकार त्यही तयारीमा छ।”
उनले निर्वाचन सम्पन्न गराउने जिम्मेवारी सरकारको मात्रै नभई निर्वाचन आयोग, राजनीतिक दल तथा अन्य सरोकारवालाको समेत रहेको उल्लेख गरे। उनका अनुसार सबै पक्षको समन्वयमै निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ।
प्रवक्ता खरेलले निर्वाचनसम्बन्धी अन्य विषयहरू निर्वाचन आयोगको अधिकार क्षेत्रभित्र पर्ने स्पष्ट पार्दै ती विषयमा आयोगकै निर्णयको प्रतीक्षा गर्नुपर्ने बताए।
“फागुन २१ को निर्वाचन यताउता हुँदैन,” उनले दोहोर्याए, “बाँकी अधिकार र जिम्मेवारीका विषयमा निर्वाचन आयोगकै निर्णय पर्खनुपर्छ।”