बैंक तथा वित्तीय संस्थाको स्रोतमा बागमती प्रदेशको सबैभन्दा ठूलो हिस्सा
काठमाडौं, १७ पुस
बैंक तथा वित्तीय संस्थाको स्रोत परिचालनमा बागमती प्रदेशको हिस्सा देशभर सबैभन्दा ठूलो रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार निक्षेप संकलन र कर्जा लगानी दुवैमा बागमती प्रदेश अन्य प्रदेशको तुलनामा अग्रस्थानमा देखिएको हो।
केन्द्रीय बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ सम्म बैंक तथा वित्तीय संस्थाले कुल ७२ खर्ब ९५ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्। यसमध्ये ५५ खर्ब ८६ अर्ब २९ करोड रुपैयाँ कर्जा हाल कायम रहेको छ।
गत आर्थिक वर्ष कर्जा–निक्षेप अनुपात मधेश प्रदेशमा सबैभन्दा बढी १२१.६ प्रतिशत रहेको छ भने गण्डकी प्रदेशमा सबैभन्दा कम ५८.३ प्रतिशत रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ।
औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा १६ खर्ब ९९ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ, जुन वित्तीय क्षेत्रको कुल कर्जाको ३०.४२ प्रतिशत हो। औद्योगिक कर्जामध्ये गैरखाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा सबैभन्दा बढी ३५.२७ प्रतिशत कर्जा प्रवाह भएको छ। त्यसपछि विद्युत्, ग्यास तथा पानी उद्योगमा २६.२६ प्रतिशत, कृषि, वन तथा पेय पदार्थ उद्योगमा २१.८५ प्रतिशत, निर्माण क्षेत्रमा ११.७० प्रतिशत, धातु उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा ४.२३ प्रतिशत र खानी उद्योगमा सबैभन्दा कम ०.६९ प्रतिशत कर्जा प्रवाह भएको छ।
प्रदेशगत रूपमा औद्योगिक कर्जामा बागमती प्रदेशको हिस्सा सबैभन्दा ठूलो छ। बागमतीमा १२ खर्ब ८० अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी भएको छ। त्यसपछि कोशी र लुम्बिनी प्रदेश क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। औद्योगिक कर्जामा बागमतीको हिस्सा ७१.३ प्रतिशत, कोशी ९.५, लुम्बिनी ८.३, मधेश ७.५, गण्डकी १.६, सुदूरपश्चिम १.६ र कर्णाली ०.२ प्रतिशत रहेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ४.६ प्रतिशत र प्रचलित मूल्यमा ४ प्रतिशत रहने प्रारम्भिक अनुमान छ। सोही वर्ष कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान २५.२ प्रतिशत, उद्योग १२.८ प्रतिशत र सेवा क्षेत्रको ६२ प्रतिशत रहने अनुमान गरिएको छ।
प्रदेशगत जीडीपीमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६.५ प्रतिशत रहेको छ भने कोशीको १५.९ प्रतिशत र कर्णालीको सबैभन्दा कम ४.२ प्रतिशत रहेको छ।
उद्योगको औसत क्षमता उपयोग आर्थिक वर्ष २०८१/८२ मा ४४.५ प्रतिशतमा सीमित रहेको छ, जुन अघिल्लो वर्ष ४८.३ प्रतिशत थियो। २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये औद्योगिक क्षेत्रको हिस्सा ३०.४२ प्रतिशत रहेको छ।
पूर्वाधारतर्फ गत आवमा १ हजार २ सय ३५ किलोमिटर कालोपत्र सडक, २ सय ८७ किलोमिटर ग्राभेल सडक र ३ सय १ किलोमिटर नयाँ ट्र्याक निर्माण गरिएको छ भने ३ सय ७० किलोमिटर सडक मर्मत गरिएको राष्ट्र बैंकले जनाएको छ।
व्यापारतर्फ कुल वस्तु निर्यात ८१.८ प्रतिशतले वृद्धि भई २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ पुगेको छ भने आयात १३.३ प्रतिशतले वृद्धि भई १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ।
केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा मुद्रास्फीतिको चाप न्यून रहेको छ। विश्वव्यापी रूपमा इन्धन तथा खाद्यवस्तुको मूल्य घटेकाले मुद्रास्फीति नियन्त्रणमा रहेको जनाएको छ।
त्यसैगरी ब्याजदर घट्दो अवस्थामा रहनु, जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि, निर्यात र विप्रेषण आप्रवाहमा सुधार तथा निर्माण र उत्पादनमूलक उद्योगमा देखिएको सुधारले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने राष्ट्र बैंकको निष्कर्ष छ। मौद्रिक सहजताका कारण आगामी आवमा आर्थिक गतिविधि थप चलायमान भई आर्थिक वृद्धि औसतभन्दा माथि रहने अनुमान गरिएको छ।