नारायणी नदीमा नेपालकै पहिलो ‘राइनो क्रुज’ सञ्चालनको तयारी
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘राइनो क्रुज’ सञ्चालनमा आउने भएको छ। नवलपुर र आसपासका क्षेत्रलाई दिगो तथा सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित क्रुज सञ्चालनको तयारी गरिएको हो।
राइनो वाटर इन्टरटेनमेन्ट प्रालि र होटल रिभर क्राउन प्रालिले संयुक्त रूपमा नारायणी नदीमा राइनो क्रुज सञ्चालन गर्न लागेका हुन्। कम्पनीका प्रबन्ध निर्देशक दीपक ढुङ्गेलका अनुसार पर्यटकीय प्रयोजनका लागि सञ्चालन गरिने क्रुज गैँडाकोट पुलचोकदेखि देवघाटसम्म चलाइनेछ।
यही माघ महिनामा सञ्चालनमा ल्याउने तयारीस्वरूप क्रुजको पुनर्निर्माण गरिएको र हाल प्राविधिक परीक्षणपछि नियमित सञ्चालनको तयारी भइरहेको ढुङ्गेलले बताए। दुई तला र ३६० डिग्री अवलोकनस्थल रहेको क्रुजको कुल क्षमता दुई सय यात्रुको भए पनि सुरुवाती चरणमा एक सय ५० जनालाई सेवा दिने गरी सञ्चालन गरिनेछ।
क्रुजभित्र रेष्टुराँ सुविधा रहनेछ भने यात्रुलाई लक्षित गरी लाइभ म्युजिकसहित गीत–सङ्गीतको मनोरञ्जन पनि प्रदान गरिनेछ। राइनो क्रुजलाई लक्जरी रिभर क्रुजका रूपमा विकास गर्दै नियमित प्याकेजहरू सञ्चालन गरिने ढुङ्गेलले जानकारी दिए।
प्याकेजअन्तर्गत क्रुज यात्रासँगै खाना तथा नास्ताको व्यवस्था हुनेछ। साथै, टिकट मात्र लिएर यात्रा गर्ने यात्रुले अतिरिक्त शुल्क तिरेर क्रुजभित्रकै रेष्टुराँबाट खाना तथा खाजा लिन सक्ने व्यवस्था गरिनेछ।
होटल रिभर क्राउन र राइनो क्रुजलाई एउटै कम्पनीमार्फत सञ्चालन गरी होटललाई तारे (स्टार) होटलको स्तरमा पुर्याउने र आगामी पाँच वर्षभित्र पब्लिक कम्पनीमा गई सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी पनि रहेको ढुङ्गेलले बताए।
राइनो क्रुज सञ्चालनपछि सम्भाव्यता अध्ययन गर्दै थप दुईवटा ‘मिनी क्रुज’ सञ्चालन गर्ने योजना समेत रहेको कम्पनीले जनाएको छ।