सभापति थापा देउवा र वरिष्ठ नेताबाट एकता अपेक्षा
काठमाडौं, ३ माघ — नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन आयोगको निर्णयलाई आत्मसात गर्दै पार्टीभित्र एकता कायम गर्न अग्रसर हुनुपर्ने बताएका छन्।
केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले अब पुराना नेता र नयाँ साथीहरू एकसाथ उभिनुपर्ने बताएका छन्। उनले निवर्तमान सभापति शेरबहादुर देउवाबाट अभिभावक र संरक्षकको भूमिकाको अपेक्षा गरेको बताए।
थापाले भने, “उहाँले देशभरिका साथीहरूलाई भन्दिनुपर्छ, अब यो रोक, सकियो। एउटा चरणसम्म आआफ्नो विमतिहरू रहे पनि सबै एकजुट हुनुपर्छ।”
साथै उनले पार्टीका वरिष्ठ नेता शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट पनि समान अपेक्षा व्यक्त गरेका छन्। थापाले संवादको थालनी भइसकेको र केही दिनभित्रै सबै विषय टुंगिने विश्वास व्यक्त गरेका छन्।