फागुन २१ को प्रतिनिधिसभा निर्वाचन आउन ६१ दिन बाँकी, उम्मेदवारको खर्च सीमा तोकियो
काठमाडौं — आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ६१ दिन बाँकी रहेको छ। निर्वाचनको तयारीसँगै निर्वाचन आयोगले उम्मेदवारले खर्च गर्न पाउने अधिकतम रकमको सीमा निर्धारण गरेको छ।
आयोगका अनुसार २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्। तीमध्ये ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा र रामेछापका उम्मेदवारले सबैभन्दा बढी खर्च गर्न पाउने व्यवस्था गरिएको छ।
यसैगरी काभ्रेपलान्चोकका दुवै निर्वाचन क्षेत्र, मकवानपुरका दुई, गोरखाको एक, लमजुङको एक, अर्घाखाँची, रोल्पा, प्यूठान, दाङको एक, बर्दियाका दुई, सल्यान, डोल्पा, हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडीका उम्मेदवारले पनि अधिकतम ३३ लाख रुपैयाँ बराबरको चुनावी खर्च गर्न पाउनेछन्। भौगोलिक विकटताका कारण ती निर्वाचन क्षेत्रमा खर्च सीमा अन्य क्षेत्रको तुलनामा बढी तोकिएको आयोगले जनाएको छ।
आयोगले सुगम जिल्लाका निर्वाचन क्षेत्रमा न्यूनतम २५ लाख रुपैयाँसम्म मात्रै खर्च गर्न सक्ने व्यवस्था गरेको छ। सबैभन्दा कम खर्च सीमा तोकिएका पाँच निर्वाचन क्षेत्र काठमाडौं १, ३, ६, ७ र ८ रहेका छन्।
त्यस्तै, तेह्रथुम, पर्सा १, २ र ३, रसुवा, काठमाडौं २, ४, ५, ९ र १०, ललितपुर १ र २, मनाङ, कास्की–२ तथा रुकुम पूर्वका उम्मेदवारले २७ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्।
यस्तै, ६५ निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख रुपैयाँ बराबर खर्च गर्न पाउने व्यवस्था गरिएको छ भने ५२ निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख रुपैयाँसम्म चुनावी खर्च गर्न सक्नेछन्।
निर्वाचन आयोगले यसपटक उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा खाता खोली त्यसैमार्फत सम्पूर्ण निर्वाचन खर्च गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिएको छ।