कोशीमा आज मन्त्रिपरिषद् पुनर्गठन, सबै मन्त्रीले दिने तयारी राजीनामा
विराटनगर, २२ पुस — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्। नयाँ मन्त्रीहरूको शपथ ग्रहणका लागि प्रदेश प्रमुखसँग मंगलबार साँझ साढे ४ बजेको समय तय गरिएको छ।
हाल सरकारमा रहेका कांग्रेस र एमालेका सबै मन्त्रीले आजै राजीनामा दिने तयारी गरेका छन्। गठबन्धनमा रहेका दुई दलले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ अनुहार पठाउने समझदारी गरेपछि मन्त्रिपरिषद् पुनर्गठन हुन लागेको हो।
वर्तमान सरकारमा एमालेबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राम राना, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री एकराज कार्की, सामाजिक विकासमन्त्री पाँचकर्ण राई र राज्यमन्त्री सिर्जना राई रहेका छन्। कांग्रेसबाट भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राई, पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गाम छन्।
एमाले नेता समेत रहेका मन्त्री भण्डारीले सबै मन्त्रीले आजै राजीनामा दिने जानकारी दिए।
राजीनामापछि एमालेबाट विदुर लिङथेप, चिन्तन पाठक, इन्द्रमणि पराजुली र रामकुमार महतो मन्त्री बन्ने तयारी छ। लिङथेपलाई आर्थिक मामिला तथा योजना, पाठकलाई खानेपानी, सिँचाइ तथा ऊर्जा, पराजुलीलाई आन्तरिक मामिला तथा कानुन र महतोलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ। उमाकान्त गौतमलाई राज्यमन्त्री बनाइनेछ।
कांग्रेसबाट प्रदीप सुनुवार, भीम पराजुली, मानबहादुर लिम्बू र इस्राइल मन्सुरी मन्त्री बन्नेछन्। सुनुवारलाई भौतिक पूर्वाधार, पराजुलीलाई पर्यटन, वन तथा वातावरण, लिम्बूलाई स्वास्थ्य र मन्सुरीलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय दिने तयारी छ। शोभा चेम्जोङ राज्यमन्त्री बन्नेछिन्।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्रालयको भागबण्डा यथावत् रहनेछ।
‘मन्त्रालय उही रहनेछन्, व्यक्ति मात्र फेरिने हो,’ स्रोतले जनाएको छ।