युके पठाइदिने भन्दै १८ लाख ठगी, तीन जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि युके पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभनमा रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दाङ राप्ति गाउँपालिका–१ बस्ने प्युठान नगरपालिका–९ घर भएका ३९ वर्षीय इन्द्रबहादुर केसी, काठमाडौँ स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका–५ का ४० वर्षीय आइते तामाङ र काठमाडौँ महानगरपालिका–१५ बस्ने ३४ वर्षीय विजय गुरुङ छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार इन्द्र र आइतेले युके पठाइदिने भन्दै सात जना पीडितबाट १३ लाख रुपैयाँ ठगी गरेका थिए भने विजयले एक जना पीडितबाट पाँच लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।
पक्राउ परेका इन्द्र र आइतेलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने विजयलाई वैदेशिक रोजगार विभाग ताहाचलमा बुझाइएको प्रहरीले जनाएको छ।